21/05/2026
हाल नाम्खा गाउँपालिका वडा नं. ३ अन्तर्गत पर्ने रानी खर्क क्षेत्र विगत परापूर्वकालदेखि खगाल गाउँका स्थानीयवासीहरूले निरन्तर रूपमा भोगचलन गर्दै आएको विषय सर्वविदित नै छ। स्थानीय इतिहास, परम्परागत उपयोग, सामाजिक अभ्यास तथा पुस्तौँदेखिको भोगाधिकारले उक्त क्षेत्र खगाल गाउँसँग जोडिएको स्पष्ट आधार प्रस्तुत गर्दछ। साथै कानुनी तथा प्रशासनिक रूपमा पनि सो क्षेत्रसँग सम्बन्धित विभिन्न तथ्य, अभिलेख तथा व्यवहारहरूले रानी खर्क क्षेत्र हुम्ला जिल्लाको खगाल गाउँको प्रयोग तथा संरक्षणमा रहेको वास्तविकतालाई पुष्टि गर्दै आएका छन्।
त्यति मात्र नभई, बाजुरा जिल्लातर्फका स्थानीय बासिन्दाहरूले समेत उक्त क्षेत्रमा उपयोग गर्दा सम्बन्धित निकायमा राजस्व तिरेर मात्रै प्रयोग गर्दै आएको अवस्था लामो समयदेखि कायम रहँदै आएको छ। यसले पनि सो क्षेत्रको उपयोग, व्यवस्थापन तथा स्थानीय संरचनासँगको सम्बन्धलाई थप स्पष्ट बनाउँछ।
हुम्ला र बाजुराको सीमा सम्बन्धी विषय स्थानीय सरकार, सरोकारवाला निकाय तथा बुद्धिजीवीहरूले सत्यतथ्य बुझी, ऐतिहासिक प्रमाण, कानुनी आधार र स्थानीय वास्तविकताको अध्ययन गरी समाधान खोज्नुपर्ने संवेदनशील विषय हो। यस्तो विषयलाई पत्रकारिताको आवरणमा जथाभावी प्रस्तुत गर्ने, अपुष्ट सूचना फैलाउने वा केही तथाकथित नेता तथा अभियन्ताहरूले उत्तेजना सिर्जना गर्ने कार्य कुनै पनि हिसाबले उचित मान्न सकिँदैन।
जनता–जनताबीच विभाजन सिर्जना गर्ने, सामाजिक सद्भाव बिगार्ने, यात्रु तथा सर्वसाधारणलाई दुःख–अप्ठ्यारोमा पार्ने र भावनात्मक उत्तेजना फैलाउने गतिविधिले समस्याको समाधान होइन, झन् जटिलता मात्र बढाउँछ। लोकतान्त्रिक समाजमा असहमति स्वाभाविक हो, तर त्यसको समाधान धम्की, दबाब, अफवाह र उत्तेजनाबाट नभई संवाद, सहकार्य तथा कानुनी प्रक्रियाबाट खोजिनुपर्छ।
नाम्खा गाउँपालिका इतिहास, सत्यतथ्य, स्थानीय जनअधिकार तथा नेपालको विद्यमान कानुनी व्यवस्थाको आधारमा दृढ रूपमा उभिएको छ। कुनै पनि विषयलाई राजनीतिक प्रचार, दबाब वा भ्रमका आधारमा होइन, प्रमाण, संवाद र कानुनी प्रक्रियाबाट समाधान गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ। स्थानीय जनताको ऐतिहासिक अधिकार, सामाजिक अस्तित्व तथा सम्मानको रक्षा गर्नु गाउँपालिकाको दायित्व हो र त्यसमा गाउँपालिका सदैव प्रतिबद्ध रहनेछ।
त्यसैले सम्पूर्ण सरोकारवाला पक्षहरूलाई संयमता अपनाउन, भ्रमपूर्ण प्रचारबाट टाढा रहन, सामाजिक एकता तथा सद्भाव कायम राख्न तथा समस्याको समाधान संवाद र वार्तामार्फत खोज्न हार्दिक अनुरोध गर्दछु। अन्यथा, यसबाट उत्पन्न हुन सक्ने परिस्थिति र त्यसले निम्त्याउने सामाजिक असरप्रति सबै पक्ष समयमै गम्भीर बन्न आवश्यक छ।