13/08/2026
धनगढी विमानस्थल सुदूरपश्चिमको एउटा विमानस्थल मात्र होइन, यो सुदूरपश्चिमको पर्यटन, व्यापार, लगानी र समृद्धिको मुख्य प्रवेशद्वार हो। प्रवेशद्वार बलियो नभएसम्म गन्तव्यको सम्भावना पूर्ण रूपमा उपयोग गर्न सकिँदैन।
"पर्यटन उठे नेपाल उठछ"
धनगढी विमानस्थल स्तरोन्नतिका लागि अन्तरक्रिया सम्पन्न
काठमाडौं । धनगढी विमानस्थलको स्तरोन्नति तथा सुदूरपश्चिमको हवाई कनेक्टिभिटी सुदृढीकरण सम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम राष्ट्रिय योजना आयोगको सभाहल, सिंहदरबारमा सम्पन्न भएको छ।
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको प्रमुख आतिथ्यमा २०८३ साल श्रावण २८ गते दिउँसो ३:३० बजे सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्षज्यू, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (DG), सुदूरपश्चिम प्रदेशका माननीय सांसदज्यूहरू, पर्यटन क्षेत्रका सरोकारवाला तथा निजी क्षेत्रका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा धनगढी विमानस्थलको वर्तमान अवस्था, आवश्यक पूर्वाधार विकास, क्षमता विस्तार, हवाई सेवा तथा कनेक्टिभिटीको सुधारलगायत विषयमा गहन छलफल भएको थियो। सहभागीहरूले धनगढी विमानस्थललाई आधुनिक, सुरक्षित र दीर्घकालीन रूपमा विस्तार गर्दै सुदूरपश्चिमको पर्यटन, व्यापार, लगानी तथा आर्थिक विकासको प्रमुख प्रवेशद्वारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम आयोजक नाट्टा सुदूरपश्चिमका तर्फबाट धनगढी विमानस्थलको स्तरोन्नतिलाई सुदूरपश्चिमको समग्र पर्यटन विकाससँग जोड्दै स्पष्ट योजना, पर्याप्त बजेट र समयबद्ध कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो।
“धनगढी विमानस्थलको स्तरोन्नति केवल विमानस्थलको विकास होइन, यो सुदूरपश्चिमको पर्यटन, व्यापार, रोजगारी र समृद्धिको आधार निर्माण गर्ने राष्ट्रिय महत्वको विषय हो।”
कार्यक्रमले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि संघीय सरकार, सम्बन्धित निकाय, राजनीतिक नेतृत्व तथा निजी क्षेत्रबीच थप समन्वय र सहकार्यको वातावरण निर्माण गरेको छ।