22/04/2026
पुगेली माई (पुग) – कालिकोट जिल्लाको तिलागुफा न.पा. र पचालझरना गा.पा.को सीमामा अवस्थित पुगेली माई मन्दिर हाम्रो जिल्लाकै एक अद्भुत धार्मिक तथा पर्यटकीय स्थल हो। नवदुर्गा भवानीकी एक बहिनीको रूपमा पुजिने पुगेली माईको श्रद्धापूर्वक पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यही विश्वासकै कारण यस स्थानको नाम “पुग” रहन गएको किंवदन्ती पाइन्छ।
विशेष गरी कात्तिक महिना, श्रावण शुक्ल पूर्णिमा, दशैं र चैते दशैंका बेला यहाँको वातावरण आध्यात्मिक र जीवन्त बन्दछ। भक्तजनहरू मूर्ति बोकेर, भजनकीर्तन गर्दै, धामी पतुर्दै रातभरि आरती गर्दै देवीको आराधाना गर्ने परम्परा रहेको छ। साथै, कर्णाली क्षेत्रको मौलिक मस्टो संस्कृति अनुसार धामीहरूले गर्ने तान्त्रिक पूजा र कुल परम्पराले यस स्थानलाई अझ विशिष्ट बनाएको छ।
रोचक तथ्य त के छ भने, यहाँको उचाइ समुद्री सतहदेखि करिब ४५०० मिटर आसपास मानिन्छ, जुन पाथीभरा मन्दिर (३७९४ मि.) भन्दा करिब ७०० मिटरले अग्लो मानिन्छ यद्यपि, अझैसम्म यसलाई नेपालको सबैभन्दा अग्लो देवीस्थानको रूपमा औपचारिक घोषणा गरिएको छैन। त्यति मात्र होइन, यही क्षेत्रबाट नेपालको सबैभन्दा अग्लो झरना पचाल झरना (करिब ३८१ मि.) पनि सुरु हुन्छ। जसले गर्दा यहाको पर्यटकीय सम्भावना झन् ठूलो देखिन्छ।
तसर्थ यो क्षेत्र धार्मिक आस्थासँगै प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, जसले स्थानीय पर्यटन प्रवर्द्धनमा पनि ठूलो योगदान पुर्याउन सक्छ। अग्लो स्थानमा अवस्थित यस देवीस्थानबाट देखिने दृश्यहरूले हरेक आगन्तुकको मन जित्नसक्छ। हाम्रो आफ्नै कालिकोटको गौरव बन्न सक्ने यस्तो धार्मिक, सांस्कृतिक र प्राकृतिक धरोहरलाई चिनौं, संरक्षण गरौं र विश्वसामु चिनाउने प्रयास गरौं। पुगेली माई मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, हाम्रो पहिचान र सम्भावनाको सुन्दर प्रतीक पनि हो। 🙏
Pictures: Surendra Pandey , Rizan Shahi , Google