09/11/2025
मुनामदन👇
ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् सृष्टिको फूल रचेर त्यस्तो कसरी पछारिस् ।
माथिका हरफहरू तिमीहरूले रेडियोबाट सुनेका हौला । कसै-कसैले त पढेका पनि हौला । यी हरफहरू महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको हो ।
हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दी मनले !
यी हरफ पनि महाकवि देवकोटाले नै लेख्नुभएको हो। यी दुवै कविता 'मुनामदन' नाम गरेको किताबमा छन् । देवकोटाले दश वर्षकै उमेरमा कविता लेख्नुभएको थियो ।
लक्ष्मीप्रसाद देवकोटाले थुप्रै किताब लेख्नुभएको छ । उहाँले कथा, कविता, निबन्ध, नाटक, उपन्यास आदि लेख्नुभएको छ । विशेष गरी कवितामा उहाँको ठूलो देन छ । महाकाव्य र खण्डकाव्य गरी उहाँका थुप्रै काव्यहरू छन् । महाकवि देवकोटा आफैँलाई पनि मुनामदन असाध्यै मन पर्थ्यो । उहाँले भन्नुभएको थियो "मुनामदन बाहेक मेरा अरू सबै किताब जलाइदिए पनि हुन्छ ।”
'मुनामदन' मा के कुरा लेखिएको होला भन्ने खुल्दुली तिमीहरूलाई पनि होला । छोटकरीमा मुनामदनको कथा यस्तो छ -
कुनै गाउँमा मदन भन्ने एउटा केटो हुन्छ । ऊ पैसा कमाउन ल्हासा जान्छ । उससँग अरू साथीहरू पनि जान्छन् । उनीहरू कठिन बाटो हिँड्दै ल्हासा पुग्छन् ।
त्यहाँबाट धन कमाएर उनीहरू घर फर्कन्छन् । फर्कदा बाटामा मदन बिरामी हुन्छ । उसलाई साथीहरूले बाटैमा छोडिदिन्छन् । बिरामी मदनलाई त्यहीँका एक जना भोटेले लगेर आफ्नो घरमा राख्छन् । औषधी गरेर उसलाई निको तुल्याउँछन् । आफूलाई उपचार गरेको देखेर खुसी भई मदनले भोटेलाई ढोगिदिन्छ । उनलाई ढोग्दा मदनले भनेको थियो -
"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले हुँदैन मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन"
त्यहाँबाट मदन घर फर्कन्छ । घर फर्कदा उसकी स्वास्नी मुना र उसकी आमा मरिसकेका हुन्छन् । मदनलाई ठूलो चोट पर्छ ।
माथिको कथा छोटकरीमा मात्र भनिएको हो । सबै कुरा बुझ्न किताब नै पढ्नुपर्छ ।
देवकोटाका बारेमा जानकारी
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ सालमा भएको हो। कात्तिक महिनाको २७ गते लक्ष्मीपूजाका दिन उहाँको जन्म भएको हो । लक्ष्मीपूजाका दिन जन्मेको भएर नै उहाँको नाम लक्ष्मीप्रसाद राखिएको हो ।
महाकवि देवकोटाका बाको नाम तिलमाधव देवकोटा हो । उहाँकी आमाको नाम अमर राज्यलक्ष्मी हो ।
लक्ष्मीप्रसाद देवकोटाले धेरै पढ्नुभएको थियो । उहाँले अङ्ग्रेजीमा पनि कविता लेख्नुभएको छ ।
वि.सं. २०१६ सालमा लक्ष्मीप्रसाद देवकोटाको देहान्त भयो। उहाँ मरेर गए पनि हामी सबै उहाँलाई सम्झिरहन्छौँ । हामी उहाँका कथा, कविता, निबन्ध आदि पढ्छौँ ।
लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६ वि.सं.)