03/09/2026
त्रिशूली–भोटेकोशी बाढीपछि बारपाक सुलिकोटको निर्णय: बेपत्ता ६ परिवारलाई तत्काल राहत, जनप्रतिनिधिदेखि शिक्षकसम्मको पारिश्रमिक उद्धार कोषमा
गोरखा। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले देशभर शोकको वातावरण सिर्जना गरिरहेका बेला गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बेपत्ता भएका आफ्ना ६ नागरिकका परिवारलाई तत्काल राहत दिने र जनप्रतिनिधिदेखि शिक्षक–कर्मचारीसम्मको पारिश्रमिक उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले बुधबार जारी गरेको प्रेस वक्तव्यमा बाढीमा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हालसम्म सम्पर्कविहीन वा हराइरहेका नागरिकहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको जनाएको छ।
प्रेस वक्तव्यअनुसार, बाढीका कारण बारपाक सुलिकोट गाउँपालिकाका ६ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूका परिवारलाई खोज तथा उद्धार कार्यमा सहयोग पुग्ने उद्देश्यले प्रति परिवार ३५ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ।
विपद्को घडीमा स्थानीय तहभित्रैबाट ऐक्यबद्धता देखाउने निर्णयसमेत गाउँपालिकाले गरेको छ। त्यसअनुसार अध्यक्ष र उपाध्यक्षले ७ दिन, अन्य सबै जनप्रतिनिधिले ५ दिन बराबरको पारिश्रमिक योगदान गर्ने भएका छन्। त्यस्तै अधिकृतस्तरका कर्मचारीले ७ दिन, सहायकस्तरका कर्मचारीले ५ दिन र श्रेणीविहीन कर्मचारीले २ दिन बराबरको पारिश्रमिक दिने निर्णय गरिएको छ।
यसैगरी सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले पनि तहअनुसार ७ दिन, ५ दिन र २ दिन बराबरको पारिश्रमिक योगदान गर्ने भएका छन्। विद्यालय सहायक, बालविकास सहजकर्ता, सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता तथा विद्यालय सहयोगीहरूले पनि २ दिन बराबरको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
गाउँपालिकाका अनुसार यी सबै योगदानबाट रु. २८ लाख ६९ हजार ६ सय ५५ रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। उक्त रकम बाढीपीडितहरूको उद्धार तथा राहत कार्यमा गाउँपालिकाको तर्फबाट उपयोग गरिने जनाइएको छ।
गाउँपालिकाले विपद्को कठिन समयमा सबै सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्दै खोज, उद्धार र राहतका कार्यलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जनाएको छ।