14/05/2025
अलविदा प्रिय कमरेड!
१३ हज़ार ४ सय ५ दिनअघि, २०४५ भदौ १४ गते, मैले बनाएको यो पोट्रेट कमरेड प्रदीप नेपाललाई उपहार दिएको थिएँ। त्यसमा मैले लेखेको सन्देश — “with rememberer forever” — ले आज आएर झनै गहिरो अर्थ बोकेको छ। त्यसबेला त्यो एउटा आशापूर्ण भाव मात्र थियो, आज त्यो कठोर सत्य बनेको छ। एक हप्ता अगाडि, कमरेड प्रदीप नेपाल यस संसारबाट सधैंका लागि बिदा हुनुभयो — मलाई रिक्तता र क्षतिको गहिरो अनुभूति भइरहेछ। उहाँको विरासत, जुन त्यो चित्रमा जस्तै अमिट छ, सधैं जीवित रहनेछ। र उहाँको सम्झना, मनमा सधैं-सधैं रहिरहनेछ।
उहाँ मेरो लागि केवल राजनीतिक गुरू मात्र नभई, राजनीतिक जीवनका प्रारम्भिक दिनहरूमा अक्सर भइरहने अनिश्चय र द्विविधामा साथ दिने भरपर्दो पथप्रदर्शक पनि हुनुहुन्थ्यो। चाहे त्यो भूमिगत अवस्थामा होस् वा मन्त्री परिषद्को जिम्मेवारीमा रहँदा, उहाँको प्रेरणा सधैं नै रही रह्यो।
त्यतिखेर उहॉ टाउकोको मूल्य तोकिएका भूमिगत नेताहरूमध्ये एक हुनुहुन्थ्यो।आज पनि मेरो स्मरणमा ताजै छ — ज्यानमै खतरा हुँदाहुँदै पनि उहाँ, काठमाडौँदेखि नुवाकोटसम्म मेरो विवाह समारोहमा सहभागी हुनुभयो। त्यो गज्जबको साहस, हामीप्रतिको स्नेह र सहकार्यका रोमान्चित क्षणहरू मेरो हृदयमा जीवित छन् । मनमा उहॉप्रति विनम्र सम्मान एवम् गहिरो कृतज्ञता छ।
त्यतिखेर पार्टीका विभिन्न संगठनमा क्रियाशील हामी, केही युवाहरुको समुह थियो, जसलाई उहाँ “मेरा केटाहरू” भन्न रूचाउनुहुन्थ्यो। पार्टीभित्रका चर्को बहसहरूमा, हामीप्रतिको विश्वासका कारण जोशका साथ “आफ्ना केटाहरू” छन् भन्ने सन्देश दिन चाहनु हुन्थ्यो। आफ्नो राजनीतिक धरातल बलियो बनाउन सायद त्यसले उहॉलाई केही मद्दत पनि पुऱ्यायो कि ? उहाँले हामीलाई माया गर्नुभयो, विश्वास गर्नुभयो, र आन्दोलनको हरेक मोर्चामा उभ्याउनुभयो। यदि त्यो बेला उहाँ काठमाडौं उपत्यकाको ईन्चार्जको जिम्मेवारीमा हुनुहुन्नथ्यो भने, सायद म ट्रेड युनियन आन्दोलनमा लाग्ने थिइनँ । र, ट्रेडयुनियन आन्दोलनमा नजोडिएको भए, म आज जहाँ छु— त्यहाँ हुने थिइनँ।
प्रदीप कमरेड!
म पनि तपाईंजस्तै मृत्युपछिको स्वर्गमा विश्वास राख्दिनँ। तर मृत्युपर्यन्त जाने यदि कतै स्वर्ग जस्तो त्यस्तो कुनै ठाउँ छ भने, कामना गर्छु— तपाईंको यात्रा त्यसको सबैभन्दा शान्त र सुखद स्थानमा पुगोस्।
तपाईंको जीवन गौरवशाली रह्यो, तपाईंको हृदय विशाल थियो, र तपाईंको योगदान — अमर !
अलविदा प्रिय कमरेड !