19/02/2025
अब नेपाल एयरलाइन्सको टिकटबाट जापान एयरलाइन्सको नेटवर्क मार्फत संसारभर यात्रा गर्न सकिने छ । अमेरिका जाने /आउने सबैभन्दा छोटो र किफायती माध्यम नेपाल एयरलाइन्स भएको छ ।
नेपाल वायुसेवा निगम र जापान एयरलाइन्स बीच द्धिपक्षीय सम्झौता भएको सम्बन्धमा :
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (RA) र जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्स (JL) बीच व्यापार विस्तारको लागि द्धिपक्षीय आपसी सम्झौता Interline Partnership Agreement भएको छ । जस अनुसार नेपाल वायुसेवा निगमको सिधा उडान मार्फत् जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थल सम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइट मार्फत् विभिन्न अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्न सहज हुनेछ । यो सम्झौता अनुसार नेपाल वायुसेवा निगमको टिकटबाट जापान एयरलाइन्स (JL) को Connecting Flight मार्फत् विश्वभरीको अन्तिम गन्तव्य सम्मको लागि यात्रु तथा व्यागेज चेक–इन सुविधा प्राप्त हुनेछ भने त्यसैगरी सोही ल्भतधयचप हुँदै विश्वभरीबाट पर्यटकहरु सहज रुपमा नेपाल भ्रमण गर्न सक्ने छन् । यसबाट नेपाल वायुसेवा निगमको व्यापार विस्तार हुनुको साथै समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जर्नमा टेवा पुग्ने विश्वास लिइएको छ ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीको विशेष निर्देशन र बजार व्यवस्थापन विभागको विशेष पहलमा लामो समय देखिको निरन्तर समन्वय तथा वार्ताबाट सम्पन्न भएको यस सम्झौता पश्चात नेपाल र जापान दुई देशका राष्ट्रिय ध्वजावाहक मार्फत् एकआपसमा व्यापार विस्तार हुने, यात्रु वर्गको यात्रा सहज तथा किफायती हुने, विश्वभरका विभिन्न मुलुक एवं जापानको विभिन्न आन्तरिक गन्तव्य सम्म निगमकै टिकटमा विश्व स्तरिय सेवा प्रदान गर्न सकिने छ । यो सहित निगमसँग Passenger Interline Partnership Agreement गर्ने एयरलाइन्सको संख्या २५ पुगेको छ भने Cargo Interline Partnership Agreement गर्ने एयरलाइन्सको संख्या २८ रहेको छ र आगामी दिनमा निगमको जहाजको संख्या थपिएसँगै निगमको विश्वव्यापी संजाल अझै फैलिने विश्वास लिइएको छ ।
यसबाट नेपाल र जापान बीचको आर्थिक एवं व्यवसायिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने र यात्रुहरुलाई जापानका विभिन्न गन्तव्यहरुमा सहज पहुँचको अवसर प्रदान हुने एवं जापानी पर्यटकहरुलाई पनि उच्च स्तरको सुविधा सहित नेपाल भ्रमणको लागि आकर्षक टुर प्याकेजहरु बनाउन सहज हुने विश्वास गरिएको छ ।