03/09/2024
आदरणीय पर्यटन व्यवसायी महानुभावहरू,
सर्वप्रथम गत मिति २०८१ भदौ १७ गते सम्पन्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६ औँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित सागर पाण्डे, वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, प्रथम उपाध्यक्ष विष्णु लम्साल, द्घितीय उपाध्यक्ष सनम शेर्पा, महासचिव सोनम ग्याल्जेन शेर्पा, सचिव रिन्जी जाङ्मु शेर्पा, कोषाध्यक्ष गौतमराज वाग्ले, सह–कोषाध्यक्ष लाक्पा तेन्डी शेर्पा तथा सदस्यहरू क्रमशः पवित्रा तामाङ, अम्बिरबहादुर गुरुङ, विनोदकुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी, सागर राई, विकाश गुरुङ, राजु गुरुङ र छोप्ते लामामा हार्दिक बधाई ज्ञापन गर्दछु !
निर्वाचन भनेको आफूलाई मन पर्ने उम्मेदवारलाई इङ्गित गर्ने प्रजात्रान्तिक अभ्यास हो । गत निर्वाचन त्यसैको निरन्तरता थियो । टानको निर्वाचनको परिणामलाई मैले अत्यन्तै स्वभाविक रूपमा लिएको छु ।
पर्वतीय पर्यटन व्यवसायीका नाताले यति बेला हामीले सामना गरिरहेका समस्याहरू समान छन् । निर्वाचनका सन्दर्भमा हामीले उठाएका कतिपय एजेन्डाहरू समान थिए त कतिपय पृथक । मैले उठाएका एजेन्डाहरूलाई पनि सम्बोधन गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । एकातिर नीतिगत सुधारको आवश्यकता छ भने अर्कोतिर मौजुदा पदमार्गहरू जोगाउने, भत्केका पदमार्गहरूको पुनर्निर्माण गर्ने, वैकल्पिक पदमार्गहरू खोजी गरी तिनको प्रवद्र्घन गर्नुपर्ने आवश्यकता पनि त्यत्तिकै छ ।
अव्यवहारिक भ्याट हटाउने, अवैधानिक रूपमा पदयात्रा गर्ने पदयात्रीहरूलाई ‘नो ट्रेकिङ विधआउट गाइड एन्ड पोर्टर’ लागु गर्ने, टिम्सलाई एकद्वार प्रणाली लागु गरी श्रमिकको रेस्क्यु, स्वास्थ उपचारको जिम्मा टानले लिने, मजदुर कल्याणकारी कोषको पुर्णरूपमा कार्यन्वयन गर्ने, कम्पनीका सञ्चालकहरू आर्थिक अभावमा सामान्य स्वास्थ समस्याले ज्यान गुमाउने अवस्थाबाट बचाउन टान स्वास्थ उपचार कोष स्थापना गर्ने, एक जना पर्यटकले पनि निषेधित क्षेत्रहरूमा जान अनुमति पाउनु पर्ने र टान सुचना केन्द्र निर्माण गर्ने जस्ता कुराहरू पनि टड्कारो आश्यकता हुन् ।
अग्रजहरूको अनुभव र युवाहरूको ज्ञानलाई संयोजन गरी यो व्यवसायमा हाम्रो भविष्य सुनिश्चित गर्ने र युवापुस्तालाई यो व्यव्सायमा आकर्षित गर्ने लगायतका मैले उठाएका एजेन्डाहरू नवनिर्वाचित कार्यसमितिले पुरा गर्ने छ भन्ने विश्वास लिएको छु ।
म र मेरो समुहलाई मत दिनुहुने सम्पूर्ण मतदाता महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईहरु बाट मैले थप हौसला र उर्जा प्राप्त गरेको छु । मेरो बाँकी जिवन यही व्यवसायको हक र हितमा खर्चने छु । तपाईहरुले भोगेका समस्याहरू समाधान गर्न सदैव तपाईंहरूसँगै हातेमालो गर्दै रहिरहनेछु छु ।
अन्तमा, निर्वाचनमा मलाई उम्मेदवार बनाउनेदेखि अन्तिम समयसम्म साथ, सहयोग र समर्थन गर्नु हुने मेरा आदरणीय अग्रजहरु, समकालिन व्यवसायीहरूप्रति आभारी छु । निर्वाचन परिचालन संयोजक, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका इन्चार्जलगायत सम्पूर्ण परिवार, पर्यटन इलाका कमिटी परिवार, लोकतान्त्रिक पर्यटन व्यवसायी संघ (निट नेपाल) परिवार र शेर्पा पर्यटन व्यवसायी संघ (एसटिन) परिवारलाई पनि मेरो हार्दिक धन्यवाद छ । निर्वाचन प्रकृयामा विभिन्न भूमिकामा रहेर महत्वपुर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्णको म ऋणी बनेको छु ।
धन्यवाद !
जय टान, जय पर्यटन !
राजेन्द्र प्रसाद सापकोटा
3rd September 2024