02/03/2026
***लेख लामो छ तर महत्वपुर्ण छ झर्को नमानी पढ्नुहोला***
अन्नपुर्ण पदमार्गमा पर्ने मनाङ एक प्रमुख पर्यटकिय गन्तब्य हो। पहिले (१९८०–२००० दशक) यो मार्ग विश्वकै उत्कृष्ट पदयात्रा मार्गमध्ये गनिन्थ्यो। अहिले सडक विस्तार, यातायात सुविधा र प्रविधिका कारण यसको स्वरूप निकै बदलिएको छ। मनाङ क्षेत्र केवल अन्नपूर्ण सर्किटमै सीमित थिएन शान्त, मौलिक र सांस्कृतिक अनुभव खोज्ने ट्रेकरहरू का लागि मनाङका वैकल्पिक पदमार्गहरू झन् महत्वपूर्ण बनेका थिए।साथै, यहाँको तिब्बती–हिमाली संस्कृति आज पनि बलियो रूपमा जीवित छ।
अन्नपुर्ण पदमार्ग विदेशी ट्रेकरका लागि सन् १९७७ मा खुला गरिएको थियो।मूल ट्रेक धुम्रे–पोखरा रुट भएर करिब २३ दिन लाग्थ्यो। अधिकांश भाग केवल पैदलमार्ग थियो — सडक वा मोटर पहुँच थिएन। ट्रेकरहरूले जंगल, खोला, गाउँ हुँदै क्रमशः उचाइ चढ्ने प्राकृतिक अनुभव पाउँथे। गाउँ–गाउँमा स्थानीयसँग प्रत्यक्ष भेटघाट र सांस्कृतिक अनुभव ट्रेकको मुख्य आकर्षण थियो। पहिले अन्नपूर्ण सर्किट विश्वकै उत्कृष्ट “क्लासिक ट्रेक” मध्ये एक मानिन्थ्यो—लामो, दुर्गम, साहसिक र मौलिक।
१९८० दशकदेखि सडक निर्माण सुरु भयो र अहिले सडक मनाङ र मुक्तिनाथसम्म पुगेको छ। बेसिसहर–चामे भाग पहिले दिनौँ लाग्थ्यो, अहिले केही घण्टामै गाडीबाट पुगिन्छ। धेरै ट्रेकर अहिले तल्लो भाग छोडेर सिधै माथिबाट ट्रेक सुरु गर्छन्। जसले गर्दा सडकले प्राकृतिक एकान्त अनुभव घटाएको छ। धुलो, गाडी आवाज र प्रदूषणले हिँडाइ कम रमाइलो बनाएको गुनासो छ।प्राय ठाउँमा पैदलमार्ग नै सडकमा रूपान्तरण भएका छन्। अहिले भन्नुपर्दा अन्नपुर्ण सर्किट १ हप्तादेखि ११ दिनमै सकिन्छ।
मनाङ जिल्ला वा अन्नपुर्णमा क्षेत्रमा सडक बिस्तार हुनु राम्रो पनि हो यसका राम्रा पक्षहरु भनेको बिरामीको छिटो उद्दार हुनु,सामान ढुवानीमा सजिलो र कम मुल्यमै सामानहरु पाइने, शिक्षा र स्वास्थ्यको पहुचमा सजिलो,छोटो बिदा लिएर आएका पर्यटकहरको लागी लचिलो यात्रा र स्थानिय जिवनशैलीमा केहि सुधारहरु भएका छन्।
यसका बावजुत मनाङ एक पर्यटकिय गन्तव्य भएको र यहाको प्रमुख आयको श्रोत नै पर्यटन भएको हुनाले हामीले यसको बिकल्प सोच्नु आजको अपरिहरार्य आवश्यकता देखेको छु। आजकलका पर्यटकहरु अन्नपुर्ण सर्किटका बारे धेरै नकरात्मक धारणाहरु बनाउन थालेका छन। प्राय पदमार्ग नै मुख्य सडक भएको हुनाले ट्रेकरहरुलाइ धेरै सास्ति भोग्नुपरेको गुनासोहरु आउन थालेका छन्। गाडीका धुलो र अशान्तपुर्ण यात्राले गर्दा अन्नपुर्ण क्षेत्रको पदमार्गमा गहिरो असर परेको कुरा सर्वबिधितै छ। त्यसैले अब ढिला नगरी सोच्ने बेला भएको छ। हामीले के बुझ्नुपर्यो भने समस्या सडक हैन योजना बिना गरिएको सडक बिस्तार हो।
अब हामीले बैकल्पिक पदमार्गलाइ पहिलो प्राथमिकतामा राखेर योजनाबद्द भएर अगाडी बढ्नुपर्ने देखिन्छ। सडकसंजालभन्दा पर शान्त ठाउहरुलाइ जहा पर्यटकहरुले शान्त अनुभुत हुने गरी बैकल्पिक पदमार्गहरुको निर्माण गर्यो भने तल्लो भगका पर्यटन व्यवसायीहरुलाइ पनि राहत हुने देखिन्छ र यसका धेरै फाइदाहरु छन जस्तै
वैकल्पिक मार्गले
: पर्यटकलाई विभिन्न क्षेत्रमा बाँड्छ
: भीड घटाउँछ
: सबै क्षेत्रमा समान लाभ पुग्छ
: नयाँ ठाउ पर्यटनमा जोडिन्छ
: होमस्टे, होटल, पसल खुल्छ
: स्थानीय रोजगारी बढ्छ
👉 विशेष लाभ: तल्लो भेगका गाउँहरू पुनर्जिवित हुन्छन्।
: स्थानिय मौलिक परम्परा संस्कृति जिवित रहन्छ।
: शान्त बातावरण, कम भिड
: बास्तविक पदयात्राको चरम अनुभव
: नयाँ ट्रेक प्याकेज
: विशेष विषयगत ट्रेक (Culture Trek, Wildlife Trek)
: पर्यटन दीर्घकालीन बनाउँछ
: नयाँ पुस्तालाई रोजगारी दिन्छ
: क्षेत्रीय विकास सन्तुलित गराउछ
अत यि र यस्ता कारणहरुले गर्दा अवको पर्यटन रणनितिहरुलाइ सुधार गर्दै मनाङ र अन्नपुर्ण पदमार्गलाइ अझै शान्त, सुरक्षित र लोकप्रिय बनाउदै लैजानपर्ने देखिन्छ धन्यबाद।